शहादतको सम्मान, शिक्षामा आशाको बीउ –

News

जेनजी सहिद सुलभ राज श्रेष्ठको सम्झनामा काठमाडौं इन्जिनियरिङ क्याम्पसले लिएको निर्णय केवल संस्थागत घोषणा मात्र होइन, राज्य र समाजका लागि गहिरो सन्देश हो। हरेक वर्ष एक जना गरिब र इमान्दार विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने यो निर्णयले सुलभको शहादतलाई शिक्षा र अवसरमार्फत जीवित राख्ने प्रयास गरेको छ।
भदौ २३ गते भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर इन्जिनियरिङका विद्यार्थी सुलभ राज श्रेष्ठले ज्यान गुमाए। उनी परिवारका एक्लो छोरा थिए। युवाशक्ति र सम्भावनाले भरिएको जीवन अकालमै समाप्त हुँदा केवल एउटा परिवार मात्र होइन, सम्पूर्ण समाजले एउटा सक्षम भविष्य गुमाएको छ। तर, क्याम्पसको यो पहलले सुलभको सपना र संघर्षलाई नयाँ पुस्तासँग जोड्ने पुल बनाएको छ।
यो छात्रवृत्ति कार्यक्रमले गरिबीका कारण प्रतिभा दबिन नदिनु पर्छ भन्ने सन्देश दिन्छ। शिक्षा अवसरमा समानता बिना लोकतन्त्र र न्याय अधुरो हुन्छन्। सुलभको नाममा स्थापित छात्रवृत्तिले राज्यले गर्न नसकेको काम शैक्षिक संस्थाले अगाडि बढाएको उदाहरण प्रस्तुत गरेको छ—जहाँ शहादतको सम्मान भावनात्मक भाषणमा सीमित नभई व्यवहारिक पहलमा रूपान्तरण भएको छ।
यस्तो पहलले अन्य शैक्षिक संस्थालाई पनि प्रेरित गर्नुपर्छ। सहिदको सम्झना केवल स्मारक र औपचारिक कार्यक्रममा होइन, समाज परिवर्तन गर्ने दीर्घकालीन कार्यक्रममार्फत गरिनु पर्दछ। सुलभ राज श्रेष्ठको नाममा पढ्ने हरेक विद्यार्थीले इमान्दारिता, साहस र न्यायका लागि उभिने मूल्य आत्मसात् गर्ने अपेक्षा गरिएको छ।