सनातन सञ्चार गृह डेक्स,काठमाडौं
मंसिर २६ बुधबार ।

रौतहटको सदरमुकाम गौर नगरपालिका २ स्थित बानेश्वर महादेव मन्दिर बारे पुरातत्त्व विभागको टोलीले अध्ययन अनुसन्धान सुरु गरेको छ।गौर २ महादेवपट्टी गाउँ देखि पश्चिम स्थित एतिहासिक वाणेश्वर महादेव मन्दिरको पुरातात्त्विक विभागको टोलीले अध्ययन अनुसन्धान सुरु गरेको हो।

गौरका नगरप्रमुख शम्भु साहको विशेष पहलबाट पुरातात्त्विक विभाग काठमाडौँबाट वरिष्ठ पुरातात्त्विक विद् देवेन्द्रनाथ तिवारी, सहायक पुरातात्त्विक हरि भुसाल, भरत साह पुरातात्त्विक विद्यार्थीहरू सहितको टोलीले मङ्गलवारदेखि वाणेश्वर महादेव मन्दिरमा रहेको शिवलिंग र मन्दिर वरिपरिका पुराना अवशेषहरूबारे अध्ययन सुरु गरेका हुन् ।

टोलीले केही दिन भित्रै मन्दिरको पश्चिम तर्फ उत्खनन गरेर उक्त मन्दिर कहिले निर्माण गरिएको हो । मन्दिर कुन शताब्दीको हो भन्नेबारे पहिचान गराई राष्ट्रिय पुरातात्त्विक महत्वको सूचीमा लिपिबद्ध गराएर संरक्षण गरिने नगरप्रमुख साहले बताएका छन्।

तत्कालीन सिम्रौनगढका राजा हरि सिंह देव सेवइ सिंहको समयका गौरमा वाणेश्वर महादेव मन्दिर, सुवर्ण माई मन्दिर र शिवालय मन्दिर निर्माण गरिएको अनुमान रहेको मेयर शम्भु साहले जानकारी दिएका छन्। १३ औँ शताब्दीमा निर्माण गरिएको सम्पदाहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने नेपाल सरकारको दायित्व भएको हुँदा पहल गरिएको मेयर साहको भनाई छ।