सनातन सञ्चार गृह डेक्स,काठमाडौं
मंसिर १९,बुधबार ।
इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ। किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ लारुम्बामा धार्मिक पर्यटकको घुँइचो लागेको हो।
किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन्। धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन्।
सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ। यहाँका सबै होटल र घरबास होमस्टे भरिभराउ छ। होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताइन्।
त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ। हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए। जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ। माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन्।
किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ। माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो। बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ।