आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ८२ करोड खर्च भएको थियो । तर, यस पटक प्रतिनिधि सभा मात्रै हुन लागेको हुँदा कम्तीमा ५ अर्बमा निर्वाचन सम्पन्न गर्न सकिने पूर्व प्रमुख निर्वाचन आयुक्तको अनुभव छ ।

एक पूर्वप्रमुख निर्वाचन आयुक्तले भने, ‘निर्वाचन गराउनका लागि सरकारलाई आर्थिक हिसाबले खासै अप्ठ्यारो पर्दैन । २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवै निर्वाचन गर्न ५ अर्ब ८२ करोड खर्च भएको थियो । अहिले त प्रतिनिधि सभा मात्रै हो । दुई वटा मतपेटीका मात्रै भए पुग्छ, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सँगै गर्दा भने चार वटा मतपेटिका राख्नुपर्थ्यो ।’

उनका अनुसार, प्रतिनिधि सभा मात्रै भएकाले मतपेटीका पनि धेरै खर्च हुनेछ । ‘धेरै मतपेटिका किन्न पर्दैन, यस अघिको निर्वाचनमा भन्दा करिब २–३ करोड बचत हुन्छ । मतपत्र पनि आधा मात्र चाहिने भएकाले १५–२० करोड खर्च जोगिन्छ ।,’ उनले भने ।