सनातन सञ्चार गृह,काठमाडौं
पुस–९ मंगलबार ।
तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ ।
यस चिन्ताहरूबीच दलाई लामाले भनेका छन्, “म ११० वर्षसम्म बाँच्नेछु ।”
वास्तवमा यस वर्षको जुनमा ८९ वर्षीय दलाई लामालाई घुँडाको शल्यक्रियाका लागि न्यूओर्क लगिएको थियो ।
यससँगै दलाई लामाविना तिब्बती बौद्ध धर्मावलम्बीको भविष्यबारे पनि चर्चा हुन थालेको थियो । तर, अब उनले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा लामालाई उनको स्वास्थ्यबारे सोध्दा उनले भनेका थिए, “मेरो सपनाअनुसार म सायद ११० वर्ष बाँच्नेछु ।”
उनले आफ्नो घुँडा पनि निको भैरहेको बताए । लामाले भने, “यो गम्भीर समस्या होइन ।”
१४औं दलाई लामा सन् १९५९ मा हजारौं तिब्बती अनुयायीहरुसँग भारततर्फ भागेका थिए ।
चीनले दलाई लामाको उत्तराधिकारी छान्ने बताइरहेको छ ।