सनातन सञ्चार गृह डेक्स,काठमाडौं
मंसिर २६ बुधबार ।
मार्गशीर्षे मासे कृष्ण पक्षे यः पिबेद्व्रतं।
मोक्षदा नाम सा ज्ञेया सर्वपापप्रणाशिनी॥
मार्गशीर्ष महिनामा कृष्ण पक्षको एकादशीका दिन मोक्षदा एकादशीको व्रत पालन गर्दा सबै पाप नाश हुन्छ।
यस वर्षको पुण्य गीता जयन्ती र मोक्षदा एकादशीको अनेक शुभकामना ।
आजको तिथिमा नै भगवान कृष्णले अर्जुनलाई गीताको ब्याख्या गर्न सुरु गर्नुभएको थियो ।
मङ्सिर शुक्ल पक्षको एकादशी लाई किन गीता जयन्तीका रुपमा पनि मनाइन्छ रु
श्रीमद्भागवत गीता महापुराणअनुसार मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ ।
एकादशीमा के के गरिन्छ रु
हामीले यसअघि हाम्रो पात्रोमा एकादशीको महिमाहरूबारे चर्चा गरिसकेका छौँ । तपाईंहरुलाई पनि पक्कै थाहा छ, एकादशीमा विशेष भगवान विष्णुको पूजा गरिन्छ । आज विष्णु प्रतिमा स्थापना गरेर धूप, दीप, नैवेद्य चढाउने परम्परा रहेको छ । त्यस्तै, ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने पनि विश्वास गरिन्छ ।
धार्मिक दृष्टिकोणअनुसार एकादशीमा व्रत लिनाले सबै पापहरूबाट समेत मोक्ष प्राप्ति हुन्छ । अनि पापबाट मोक्ष प्राप्त हुने भएकाले आजको एकादशीलाई मोक्षदा एकादशी भनिएको विश्वास गरिन्छ । आजको दिन शुद्ध मनले व्रत बस्नाले पूर्वजहरूले समेत पापबाट मुक्ति पाउने र उनीहरूको स्वर्गको बास हुने धार्मिक मान्यता रहेको छ ।
मोक्षदा एकादशीको व्रत कथा
पौराणिक कथाअनुसार द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजा थिए । राजा वैखानसले एक पटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्धारका लागि आफूलाई अनुनय गरेको देखे । यस्तो सपना देखेपछि उनी चिन्तित भए, बिहानै उठेपछि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा उनले सविस्तार सुनाए । राजाको कुरा सुनेपछि गुरु पुरोहितहरूले पर्वत नाम गरेका एक तपस्वी ऋषिमुनिलाई भेटे र उद्धारको तरिका सिक्न खोजे ।
ती ऋषिले वैखानसलाई उनका पिताले पूर्व जन्ममा गरेको पापबारे बताए, त्यसका कारण नर्क भोग्नु परेको सविस्तार वर्णन गरे । अनि यसबाट पितालाई मुक्त गर्न मङ्सिर शुक्ल एकादशी अर्थात् मोक्षदा एकादशीको व्रत लिनु पर्ने बताए । ती ऋषिको अनुसार वैखानसले मोक्षदा एकादशीको व्रत बसे, पितालाई नर्कबाट उद्धार गरे ।
त्यही बेलादेखि भक्तालुहरूले आफ्ना पितृको उद्धारका लागि मोक्षदा एकादशीमा व्रत बस्ने गरेको मानिन्छ ।