सनातन सञ्चार गृह डेक्स,काठमाडौं
मंसिर १९ बुधबार ।
वैदिक संस्कृति संरक्षण र राष्ट्रियताको रक्षा गर्ने भन्दै काठमाडौंमा देशभरका धार्मिक संघसंस्थाहरुको भेला आह्वान गरिएको छ । भेला पुस महिनाको ५ र ६ गते काठमाडौंको चाबहिलमा हुनेछ । राष्ट्रियताको रक्षाका लागि साझा धारणा बनाउने भेलाको उद्देश्य छ ।
हिन्दु, बौद्ध, किराँत सहित नेपालमा जति पनि धार्मिक समितिहरु छन् ती सबैका अध्यक्ष र महासचिवहरुलाई भेलामा बोलाएको र त्यसबाट एउटै छाता संगठन बनाउने र देशभर जनजागरको अभियान चलाउने योजना गरेको भेला आयोजनाकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए ।
भिन्नभिन्न समितिमा रहेर भिन्नभिन्न ढंगले गतिविधि गर्दा प्रभावकारी नभएको भन्दै ठूलो शक्ति निर्माणको योजना अनुसार भेला आह्वान गरिएको हो ।
‘देश भद्रगोल अवस्थामा पुगेकाले अब हामी सबैको एउटै दृष्टिकोण, एउटै विचार, एउटै सिद्धान्त, एउटै लक्ष्य बनाएर अघि बढ्नुपर्ने छ,’ शास्त्रीले भने ।
राष्ट्रियता संकटमा परेको छ । देश भद्रगोल अवस्थामा छ । यसलाई सही दिशा दिन सामूहिक पहल र सामूहिक दबाब आवश्यक छ । त्यही भएर साझा दृष्टिकोण, साझा विचार, साझा चिन्तन र एउटै लक्ष्य बनाएर शान्तिपूर्ण जनजागरण अभियान चलाउनुपर्ने भएको डा. शास्त्रीको भनाई रहेको छ ।